काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दल र केन्द्रीय कमिटी दुवै बैठकमा माधवकुमार नेपाल समूहले सहभागिता नजनाउने जनाएको छ।
बैठक जुनसुकै स्थानमा भए पनि सहभागिता नजनाउने गरी नेता नेपालका तर्फबाट आग्रह गरिएको स्रोतले बतायो। ओलीले शनिबार बिहान ११ बजे संसदीय दलको बैठक र त्यसपछि केन्द्रीय कमिटी बैठक निर्धारण गरेका छन्।
सर्वोच्च अदालतको आदेशविपरीत आफूहरुलाई ‘बाइपास’ गरी फागुन २८ गते गरेका निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएका बैठकहरुमा सहभागी नहुन नेपालले निर्देशन दिएका हुन्।
शुक्रबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी सदस्यको बैठकले प्रधानमन्त्री केपी ओलीले दललाई निजीकरण गरेको भन्दै उक्त बैठकमा सहभागी नहुने माधव नेपाल-झलनाथ खनाल समूहले अडान राखेका छन्।
संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गरिएको नेपाल समूहको निष्कर्ष छ।
निर्णयमा भनिएको छ,‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले शनिबारका लागि प्रचारित बैठकमा सहभागी नहुने।’दलको कार्यालय वा संसद भवनमा बैठक राखेर उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरे विचार गर्ने माधव पक्षका एक नेताले बताए।
बिहीबार सकिएको दुईदिने राष्ट्रिय कार्यकर्ता भेलाले माओवादी केन्द्रसँगको एकतापूर्वको पार्टी कमिटी ब्युँताएर अघि बढ्ने निर्णय गरेको छ। भेलाले १७ बुँदे घोषणापत्र जारी गर्दै फागुन २८ गते ओलीद्वारा आफू पक्षधर केन्द्रीय कमिटीका सबै निर्णय रद्द गर्न माग गरेको थियो।
एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो। अदालतको आदेशपछि पार्टीका सबै कमिटी, सम्बद्ध जनसंगठन र पेसागत संगठनलगायत सबै संरचना माओवादी केन्द्रसँगको एकीकरणपूर्वको स्थितिबाट विधिसम्मत सञ्चालन र क्रियाशील तुल्याउनु कानुनसम्मत र पद्धतिसम्मत हुने माधव समूहको भेलाको निष्कर्ष छ।
यता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अराजकता, अनुशासनहीनता र उच्छृंखलतालाई छुट नभएको बताएका छन्। पार्टीले बोलाएको बैठकमा सहभागी नहुने, विधि विधानविपरीत हिँड्न खोज्नेलाई कारबाही गर्ने चेतावनी प्रधानमन्त्री ओलीले दिएका छन्। उनले संसदीय दल र केन्द्रीय कमिटीको बैठकमा उपस्थित हुने नेताहरुलाई आग्रह गरेका छन्।



लोकपाटी न्यूज

