काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन्। अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफुहरुले पार्टी फुटाउने कुरा नगरेको बताएका हुन्।
आफुहरु सँधै पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसला अनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका सबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भएपनि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको स्पष्ट पारे।
राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीलाई कारवाही गर्ने अध्यक्षले चेतावनी दिएपनि कसैको पनि पद र जिम्मेवारी अध्यक्षले खोस्न नसक्ने भन्दै कार्यकर्ताहरूलाई धैर्यता र हिम्मतका साथ पार्टी एकताको पक्षमा उभिन निर्देशन दिए। उनले भने- ‘पूर्व एमालेको ठाउँमा फर्किऔ। कार्यकर्ता भेलामा भनेको कुरा के हो भने ? हामी पार्टी फुटाउने होइन। पार्टी एकताबद्ध बनाएर लैजाने हो।
२०७५ साल जेठ ३ गते दुईवटा पार्टी एकतावद्ध भए। एकताबद्ध हुनुभन्दा पहिले जेठ २ गतेसम्म जुन जुन संरचना थिए। जो-जो पदाधिकारी, सदस्य थिए। ती सबैलाई यथावत रुपमा जिम्मा दिनुपर्छ। पार्टी एकताबद्ध भएर अघि बढाउनुपर्छ। तपाईहरु एमाले पार्टीको हुन्जेल कसैले तपाईको पद खोस्न सक्तैन।’ नेता नेपालले सांसदहरुको सवालमा के कस्तो हुनसक्छ भनेर आफुहरुले परामर्श गरिरहेकाले नआत्तिकन कम्युनिष्ट एकताको आन्दोलनमा लाग्न पनि निर्देशन दिए। केही समय अघि अध्यक्ष ओली समूह अन्तर्गतको अखिल महिला संघले पनि राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो।



लोकपाटी न्यूज

