७ गतेकाे गुट भेलामा हामी जादैनाै : योगश भट्टराई

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको असन्तुष्ट पक्षका प्रचार विभागका प्रमुख योगश भट्टराईले चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा नजाने बताएका छन्। बिहीबार कार्यकर्ता भेला समापन पछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले ७ गते गुटको भेला भएकाले आफूहरू नजाने बताएका हुन्।

‘केन्द्रीय कमिटीको बैठक सम्भव पनि छैन, त्यो गुटको भेला हो,’ उनले भने, ‘जसरी यो भेलामा केपी ओली आउनुभएन, त्यसरी नै त्यो बैठकमा हामी जाँदैनौं।’ फागुन २८ गतेको निर्णय केपी ओली फिर्ता लिएको खण्डमा आफूहरुले सोच्न सक्ने भट्टराईको भनाइ छ।

‘ओलीले थपेको अवैध केन्द्रीय समिति हामीलाई स्वीकार छैन, त्यसमा हामी जाँदैनौँ’, भट्टराईले थपे। उनले पार्टी एकताका लागि छलफल नै गर्दिनँ भन्ने ओलीको शैली निरंकुश भएको बताए। उनले ट्रम्प र चीनबीच त वार्ता भएको भन्दै वार्तै हुँदैन भन्न नहुने बताए। ‘छलफल गर्दिनँ भन्ने ओलीको शैली निरंकुश हो, चीन र अमेरिकाबीच वार्ता हुन्छ भने हामीबीच नहुने भन्ने हुँदैन’, भट्टराईले भने।

उनले सर्वोच्च अदालतले नेकपालाई खारेज गर्दै दुवै पार्टीलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि संगठन पनि सोही अवस्थामा फर्कनुपर्ने बताए। उनले २०७५ जेठ २ को संगठन आफूहरुको बटमलाइन भएको बताए। उनले आजको संसदीय दलले गरेको बोर्डको गठनबारे विधान हेरेर मात्रै प्रतिक्रिया दिने बताए।