काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल गएपछि एमालेमा खैलाबैला भएको बताएका छन्। सिन्धुलीमा बुधबार नेता कार्यकर्ताहरुसँगको भेटघाटमा प्रचण्डले नेपाल पक्षलाई ओलीले बेवास्ता गरेको र अब उनीहरुले एमालेभित्र संघर्ष गर्ने बताए।
उनले भने, ‘माधवजीहरु गएपछि त्यहाँ (एमाले)मा खैलाबैला भएको छ। यिनी त झमेलामा मात्र गर्ने हुन् भन्ने परेको छ। त्यसो भएर केपीले हतारमा अस्ति २८ गते बसेर सबै कार्यविभाजन गरेर, केन्द्रीय सदस्य थपघट गरेर माधवहरुलाई वास्तै गरेनन्। त्यसो भएपछि माधवजीहरु फेरि बाध्य भएर आफ्नो अलग्गै भेला, अलग्गै दस्तावेज भनेर राष्ट्रिय भेला गरिरहनुभएको छ।’
नेपाल पक्ष कम्युनिस्ट पार्टी एकताको पक्षमा रहेको प्रचण्डको भनाई छ। नेपाल पक्षले एमालेमा संघर्ष गर्ने र अन्ततः कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने उनको दाबी छ। प्रचण्डले भने, ‘मलाई विश्वास छ, उहाँहरु एकताको लागि अगाडि बढ्नुहुन्छ। हाम्रो राम्रो कुरा भएकै हो, अब एमालेभित्र उहाँहरुले संघर्ष गर्नुहुनेछ। अन्ततः कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने नै हुन्छ।’
कतिपयले कम्युनिस्ट पार्टीबीचको एकतालाई गलत अर्थ लगाएपनि तर त्यसो नभएको उनको दाबी छ। उनले पार्टी एकताबाट आफूहरुले सबै तहमा जनसमर्थन प्राप्त गरेको बताए।
‘कोही कोहीलाई दुवै पार्टी पुरानै ठाउँमा गए के काम भयो त एकताको भन्ने पनि लाग्न सक्छ। तर, त्यो सत्य होइन,’ उनले भने, ‘हामीले गरेको एकताबाट दुईतिहाईको कमान्ड त राख्यौं नि त। सबै तहमा नेकपाको बहुमत थियो। त्यो भनेको हामीले एकता गरेर गल्ती भएन भन्ने प्रमाण हो। अहिले अदालतले उल्टो-उल्टो गरिदिएपछि हाम्रो के लाग्यो ?’



लोकपाटी न्यूज

