प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेसले अविश्वास प्रस्ताव ल्याउँछ : कोइराला

shashank koirala congress
लोकपाटी न्यूज

विराटनगर। नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छिट्टै अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग महामन्त्री कोइरालाले कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार गठन हुने बताए।

उनले कांग्रेसको नेतृत्वमा, माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बन्ने बताए। अहिले विपक्षमा रहेका दलहरुबीच भावी सत्ता गठबन्धनका बारेमा सकरात्मक छलफल भइरहेको कोइरालाले बताए।

‘केपी ओलीको विकल्प खोज्नुपर्छ। केपी ओली अवैधानिक, असंवैधानिक हुन् किन भने उनले प्रतिनिधि सभा विघटन गरेर देशलाई अस्थिरता तिर धकेल्ने काम गरे,’ उनले भने, ‘हामी विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेका छौँ। हप्ता/१० दिनभित्र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँछौँ।’

उनले प्रधानमन्त्री ओलीसँग कांग्रेसले राजनीतिक सहकार्य गर्ने कुनै सम्भावना नरहेको भन्दै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाएर राजनीतिक निकास दिनुपर्ने बताए। फरक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनका लागि कामहरु भइरहेको र अब महाधिवेशन नसर्नेमा ढुक्क हुन आग्रह समेत गरे।