एकता बचाउन ठूलो त्याग गरेको थिएँ : प्रचण्ड

Prachanda-15
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टी एकताको प्रस्तावक आफू भएको बताएका छन्। आज सिन्धुलीमा कार्यकर्ताहरूसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन्। उनले कम्युनिस्ट एकता प्रतिक्रियावादीलाई मन नपरेको र उनीहरूले आफूलाई नै निसाना बनाएको जिकिर गरे।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाठगको संज्ञासमेत दिए। ‘ओली त महाठग रहेछन्। यस्तो ठग देखिनँ। पार्टी फुट्ला कि भनेर थरथर काम्नुपर्ने भयो। पार्टी बच्ला कि भनेर प्रधानमन्त्री पनि पाँचै वर्ष खाऊ भनेँ। तर पनि भएन,’ उनले भने। ओलीले आफू र माओवादीले स्थापित गरेका एजेन्डा समाप्त पार्न खोजेको प्रचण्डको आरोप छ।

प्रचण्डले भने, ‘ओलीको मलाई पनि सिध्याउनेबाहेक देखिएन। मैले पनि लड्नै पर्ने भए जमेरै लड्ने भनेर १९ बुँदे ल्याएको हुँ। १९ पेज लामो दस्तावेजको बम ओलीमाथि हानेपछि महामारी सुरु भएको छ।’ उनले अब आफ्नो गाँठो बलियो पारेर अगाडि बढ्ने बताए। आफ्नै सङ्गठन र जनतालाई आधार मानेर अगाडि बढ्ने उनको भनाइ छ।