ओली नसच्चिए एकै ठाउँमा बस्न सकिँन्न : अष्टलक्ष्मी शाक्य

asta-laxmi shakya
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरुको भेला गुटको नभएर एमालेको भएको बताएकी छन्। एमालेको खनाल–नेपाल समूहले गरेको गुट भेलालाई सम्बोधन गर्दै शाक्यले आफ्नो पक्षले भेला गर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पीडा भएको बताइन्।

उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अपमान आफूहरुले धेरै सहेको बताइन्। नेतृ शाक्यले भनिन्, ‘ओली सच्चिनुहुन्छ कि भनेर प्रयास गर्‍यौँ तर सकेनौँ। आफ्नै नेताहरुको अपमान गर्ने काम उहाँबाट भयो। हामीले यो बीचमा धेरै पीडा भोग्यौँ। अपमान सह्यौँ।’

शाक्यले ओली सच्चिए अझैपनि पार्टी एकढिक्का राख्न सकिने बताइन्। पार्टीमा अहिले अप्ठ्यारो स्थिति भएपनि कम्युनिस्ट आन्दोलनलाई अझै एकतावद्ध बनाएर लैजान सकिने उनले बताइन् ।

उनले अध्यक्ष ओली समूह भेला आयोजना गर्दा डर र धम्की सहनु पर्ने भन्दै प्रश्न गरिन्। ‘के भेलामा आउन डराउनु पर्ने ? धम्की सहनुपर्ने ?  म त्यसको निन्दा गर्न चाहन्छु,’ उनले भनिन्, ओलीलाई म अनुरोध गर्न चाहन्छु । तपाईले २८ गते जुन भेला गरेर हामी सबै पदाधिकारीलाई हटाउने काम गुटको भेलाबाट गर्यो । के त्यो विधानसम्बत् त हो ? त्यो निर्णयलाई फिर्ता लिएर यो भेलामा आइदिनुस् ।’  उनले पार्टीलाई एक बनाउनकै लागि अदालतको फैसलापछि ढिला नगरी पार्टीमा फर्किएको पनि दाबी गरिन् ।