काठमाडौं। आजदेखि नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला सुरु गर्दैछ। अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध भेला हुन लागेको हो।
ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भेला भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय सदस्य गरी देशभरबाट २ हजार जनाभन्दा बढी नेता र कार्यकर्ता उतार्ने दाबी गरेको नेपाल पक्षले त्यसका लागि सबै तयारी पूरा भएको जनाएको छ।
नेकपा नामबारे विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते फैसला गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर र यसमा मिसिएका पहिलेकै पार्टी एमाले र माओवादी केन्द्र कायम गरेको छ।
त्यस लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखी माधव नेपाल र उनका पक्षका सबै नेताका पद र जिम्मेवारी खोसका छन्।
यता, प्रधानमन्त्री केपी ओलीले पार्टी नेतृत्वविरुद्ध आफूखुसी गुटगत भेला नगर्न-नगराउन र त्यस्ता भेलामा सरिक नहुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
बालुवाटारमा मंगलबार आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल समूहले आव्हान गरेको भेलामा सहभागी नहुन निर्देशन दिएका हुन्। ओलीले पार्टी भन्दा बाहिर गएर गरिएका गुटगत भेलामा सहभागि हुनेलाई कारबाही गर्ने चेतावनी समेत दिए।



लोकपाटी न्यूज

