नेकपा (एमाले) माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु हुँदैछ। भेला सुरु हुनै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रममा भेलामा सहभागी हुने नेता तथा कार्यकर्तालााई कारबाही गर्न चेतावनी दिएका छन्।
उनको चेतावनीसँगै एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न आग्रह गरेका छन्।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन मंगलबार ललितपुरमा गरिएको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई शक्ति र धम्कीको भाषा प्रयोग नगर्न चेतावनी दिएका हुन्। गुटगत भेला गरे कारवाही हुनसक्ने संकेत गरेका प्रधानमन्त्रीलाई उनले अहंकारको भाषा प्रयोग नगर्न सुझाव समेत दिए।
कारवाही गरेर राजनीति अगाडि नबढ्ने भन्दै उनले आफुहरु कारवाही भोग्न तयार रहेको पनि जिकिर गरे। अहंकारी शैली बढ्दै गए प्रधानमन्त्रीको दुःखमा दुईथोपा आँसु चुहाउने मान्छे पनि फेला पर्न नसक्ने भन्दै उनले इतिहासको कठघरामा उभिँदा आइपर्न सक्ने प्रश्नको उत्तर दिने हिम्मत राखेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए। इतिहासले सोधेका प्रश्नको उत्तर दिन नसकेका बेला प्रधानमन्त्री ओलीलाई इतिहासले कठोर कारवाही गर्ने उनको दाबी छ।
बिहीबारसम्म सञ्चालन हुने भेलामा नेता भट्टराईले दृढताका साथ सहभागी हुन देशभरका सबै नेता तथा कार्यकर्तालाई आग्रह र अपिलसमेत गरेका छन्।



लोकपाटी न्यूज

