काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेको एकलौटी निर्णय बदर गरे पार्टी एक हुने बताएका छन्।
मंगलबार पार्टी एकता अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले भने, ‘फागुन २८ को निर्णय बदर गरेर माधव नेपाललगायतका सबै नेता एक ठाउँमा उभिने वातावरण बनाइनुपर्छ। यसले कसैको हानि गर्दैन। पार्टी एक हुन्छ।’
उनले पार्टीभित्र अब कसैलाई गाली, शंका र लान्छना लगाउन नहुने बताए।
‘हिजो मात्रै अध्यक्ष ओलीलाई भेटेर पार्टीको विधान र नवौं महाधिवेशन अनुकुल कार्य गरेर अगाडि बढ्न आग्रह गरें। उहाँलाई पार्टीका अन्तरविरोध समाधान गरेर सबैलाई समेट्ने काम गर्न भनेको छु’ गौतमले भने, ‘विगत केहि कालमा गल्ती सबैबाट भएका छन्। आलोचना आत्मालोचनाका माध्यमबाट अगाडि बढौं।’
उनले एमालेको नेतृत्वमा सबै वामपन्थी समेटिएको सरकार बनाउन सकिने बताए।
‘उहाँले आफुलाई साथ दिन आग्रह गर्नुभयो मैले आफू एकता अभियानमा छु। एकताका काम सार्थक ढंगबाट अगाडि बढ्यो भने म कतै जान्न भनेर आएको छु’ उनले भने।
प्रधानमन्त्री ओलीले बालुवाटारमा चियापान कार्यक्रम राखेकै समय पारेर उपाध्यक्ष गौतमले एकता अभियानको कार्यक्रम राखेका थिए। चियापानमा झलनाथ खनाल प्रचण्ड पक्षका नेताहरुको पनि उपस्थिति थिएन।



लोकपाटी न्यूज

