काठमाडौं। नेकपा माओवादी केन्द्रले कार्यदल बनाएको छ। सिंहदरबारमा मङ्गलवार बसेको माओवादीको संसदीय दलको बैठकले एमालेमा लाग्ने निर्णय गरेका माओवादी नेताहरूलाई फर्काउन तीन सदस्यीय कार्यदल बनाएको हो।
कार्यदलमा नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरूङ रहेको कार्यदल बनाएको हो। कार्यदलले एमालेमा लाग्ने निर्णयमा पुगेका माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतसँग फेरि एक पटक ‘फेस टु फेस’ वार्ता गर्नेछ।
यसअघि २४ घन्टे स्पष्टीकरण सोधेको र वार्तापछि पनि फिर्ता नभएमा राजनीतिक दल सम्बन्धी ऐन अनुसार कारबाही हुने माओवादी नेता वर्षमान पुनले बैठकपछि पत्रकारहरूलाई बताए। माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ।
मङ्गलवार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको हो। बैठकले हतारमा समर्थन नगर्ने निर्णय गरेको पुनले जानकारी दिए। बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको तर, सर्वोच्च अदालतले पुन:स्थापना गरेपछिको परिस्थितिका बारेमा ‘ब्रिफिङ’ भएको उनले बताए।
‘प्रतिनिधि सभा विघटन गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भन्दै सर्वोच्चले पुन:स्थापना गरेकाले नैतिक रूपमा पदबाट उहाँले राजीनामा दिनुपर्ने निर्णय गरेको छ’, पुनले भने ‘उहाँले २ वर्ष अघि नै प्रतिनिधि सभा समाप्त गर्नु भएको हो। अब फेरि फेस गर्छु र विश्वासको मत लिन्छु भन्ने नैतिक आधार उहाँलाई छैन।’
सरकारलाई दिएको समर्थन र अविश्वासको प्रस्ताव दर्ताबारे सोधिएको प्रश्नमा पुनले हतारमा समर्थन फिर्ता नलिने र अहिले नैतिक रूपमा प्रधानमन्त्रीले राजीनामा दिन बैठकले ध्यानाकर्षण गराएको बताए।



लोकपाटी न्यूज

