काठमाडौं। प्रतिनिधि सभाको बैठक चैत ६ गतेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुभएको थियो।
सांसदहरु डिला संग्रौला पन्त, मानबहानुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव,लालबाबु पण्डित र सोमप्रसाद पाण्डेलाई सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न मनोनयन गरिएको छ।
यसैगरी सभामुखले अनुशासन उल्लंघन आरोपमा पदमुक्त हुनुभएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको स्थानमा लीलादेवी सिटौला, ज्ञानकुमारी छन्त्यालको निधन भएपछि सुवर्ण ज्वारचन र सूर्यबहादुर केसीको निधन भएपछि मोहनप्रसाद पाण्डे समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भई शपथसमेत भएको जानकारी गराउनुभएको थियो।
बैठकले संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ।



लोकपाटी न्यूज

