काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटगत भेलामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। भोलि र पर्सी एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ताको भेला आयोजना गरेको छ। ओलीले उक्त भेलामा सहभागी हुनेलाई कारबाही गर्ने संकेत गरेका छन्।
बालुवाटारमा आयोजित चियापान समारोहमा ओलीले आफूलाई कारबाही गरेर पार्टीबाट हटाएको स्मरण गर्दै यस्तो बताएका हुन्। ‘एउटै पार्टीमा बसेर अराजकता, विधि विधान विपरीतका क्रियाकलापमा छुट हुने छैन र मान्य हुने छैन ।अचाक्ली भयो । भाडभैलो मच्चाउने काम हुन सक्दैन,’ उनले भने, ‘अनुशासनहिन भयो भने पार्टिको विधान छ, संसद नियमावली छ । दलसम्बन्धी कानुन छ। यी सबैको ध्यानाकर्षण गर्न चाहन्छु। मनपरी हिड्न कसैलाई छुट हुँदैन। कोही पनि कानुभन्दा माथि कोही हुँदैन।’
उनले खनाल–नेपाल समूह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर पार्टी फुटाएको र आफूलाई कारबाही गरेको पनि बताए। ‘एक ढंगले पार्टी फुटाइएकै थियो। अध्यक्ष्लाई कारबाही गरिएको थियो। महासचिवलाई हटाएको थियो। बाटै बाट अध्यक्ष निकाल्दिनु भयो। बाटैमा अध्यक्ष बनाइदिनु भयो,’ उनले भने, ‘मलाई त साधारण सदस्यबाट पनि निष्काशित गरेकै हो। जंगलको राज चलाउने विधि पद्धतीका कुरा गर्ने ?’
उनले पार्टी २०७५ जेठ ३ अघिको अवस्थामा फर्कियो भन्दै छुट्टै बैठक बसेकोप्रति आपत्ति जनाए। ओलीले नेपाल समूहले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेलातर्फ नजर लगाइरहेको पनि बताए। ‘भोलि भेला छ रे। नेकपा एमालेसँग कोही नेता वा कार्यकर्ता गुटगत भेला नगर्न नराउन, नजान सम्पूर्ण कार्यकर्तालाई सजग सचेत गराउन चाहन्छु। आग्रह गर्न चाहन्छु’ उनले भने, ‘आलोचना गर्न पाइन्छ। सच्चिएर काम गर्नुपर्छ। तर, फेरि उही धन्दा त्यो चाहिँ चल्दैन। तमासा गर्न पाइँदैन। जग हसाइँ गर्न पाइँदैन। पार्टीको चियापनमा नजाने। अध्यक्षले आह्वान गरेको चियापानमा नजाने। प्रधानमन्त्रीको चियापनमा नजाने। कसका चियापानमा जानुहुन्छ ?’
अनुशासित भएर विचारमा केन्द्रीत भएर काम गर्नुपर्ने बताउँदै ओलीले भने, ‘अनुशासनहीन भयो भने पार्टीको विधान छ। कानून र संसद नियमावली छ। दल सम्बन्धी कानुन छ। म सबैको ध्यानाकर्षण गराउन चाहन्छु।’ आफ्ना अहंकारका लागि मनपरी गर्दै हिन्न कसैलाइ छुट नदिइने बताउँदै ओलीले कानून सबैका लागि समान हुने बताए। उनले अपराध गरेर हिँडेकाहरुलाई पनि पार्टीमा स्वीकार्ने बताए।
‘पार्टीमा कसैमाथि अन्याय हुँदैन। ठूला ठूला अपराध भएका छन्। ती मानिसहरुलाई स्वागत नगरे पनि हामी स्वीकाछौँ,’ ओलीले भने, ‘पार्टीमा आउन पाइन्छ। सच्चिएर काम गर्नुपर्छ। तर फेरि उही धन्दा र उही सिलसिला चल्दैन। भाँडभैलो चल्दैन।’ माधव नेपाल समूह आफूले बोलाएको चियापानमा सहभागी नभएकोमा ओलीले आक्रोश पोखे।
‘प्रधानमन्त्रीले बोलाएको चियापानमा नआउने, पार्टी अध्यक्षले बोलाएको चियापानमा नआउने, उहाँहरु कसको निम्ता पाए जानुहुन्छ। सबैलाई थाहा छ तर नभनौँ,’ ओलीले अघि भने, ‘एकथरी मान्छेका अनुहार देखिएनन्। यो राम्रो लक्षण हैन। कुनै कारणबस आउनुभएन होला भन्ने म ठान्छु। चियापान बहिष्कारको निर्णय जुन गरिएको थियो त्यो हैन होला भन्ने ठान्छु।’



लोकपाटी न्यूज

