काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटको प्रस्ताव गरेका छन्। सोमबार बिहान ओलीले दाहाललाई फोन गरेर भेटको प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले बताए।
‘उहाँले भेटौ कुरा गरौं भनेर प्रस्ताव गर्नुभएको छ। प्रचण्ड कमरेडले भेट्न त के भयो र भेटौंला तर अहिले म बैठकमा छु भन्नु भएछ,’ दाहालनिकट ती नेताले भने, ‘त्यसपछि उहाँ(ओली) ले बिहान बेलुका समय मिलाएर भेटौँ न भन्नु भएछ। त्यसपछि प्रचण्ड कमरेडले पार्टी अलग अलग भएपछि अब के कुरा छ र भन्नुभयो।’
ओलीले भने दाहालसँग आफूले केही कुरा गर्न चाहेको बताएका थिए। ‘तपाईंको कुरा तपाईसँग हुन्छ, मेरो कुरा मैसँग हुन्छ। मैले भनेको कुरा तपाईंले मान्नु पर्छ भन्ने पनि छैन, तपाईंले भनेका कुरा मैले मान्नु पर्छ भन्ने पनि छैन। तर म केही कुरा गर्न चाहन्छु,’ ओलीले दाहालसँग भनेका थिए। माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए। उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको दाबी छ।
गत पुस १५ गते ओलीले दाहालपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न दाहाललाई फोन गरेका थिए। त्यसयता उनीहरुबीच सामान्य संवाद पनि भएको छैन।



लोकपाटी न्यूज

