काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे छिट्टै पुनरावलोकनमा जाने बताएका छन्।
सोमबार पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकपछि पार्टीका प्रवक्ता श्रेष्ठले सर्वोच्च अदालतको आदेशबारे छिट्टै पुनरावलोकन गर्ने बताएका हुन्।
प्रवक्ता श्रेष्ठले भने, ’छिट्टै सर्वोच्च अदालतमा अदालतको पछिल्लो आदेशका सन्दर्भमा पुनरावलोकन दिनेछौँ।’
साथै सत्ता सहकार्यका लागि संसदमा भएका अरु दुई मुख्य राजनीतिक पार्टीसँग वार्ता प्रक्रियालाई तीव्र बनाउने बैठकले निर्णय गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजित गर्ने गरी सर्वोच्चले २३ फागुनमा फैसला गरेको थियो।
प्रवक्ता श्रेष्ठले आजको बैठकले सबै नेता कार्यकर्ता जिल्ला र प्रदेशमा पठाउने निर्णय गरेको पनि बताए। हाल निर्धारित जिम्मेवारीअनुसार उनीहरूले तलसम्म संगठनात्मक काम गर्ने उनको भनाइ छ। उनले अर्को केन्द्रीय समिति बैठकपछि राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय भएको पनि बताए।
आजको बैठकमा २० जना केन्द्रीय सदस्यहरु जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुन, रामदिप आचार्य, हेमराज भण्डारी, पुष्पबिक्रम मल्ल, कृष्ण केसी, दलजित श्रीपाली, परशुराम रम्तेल, जयपुरी घर्ती, हितबहादुर तामाङ, प्रकाश पोखरेल, धर्मदत्त देवकोटा, परशुराम आचार्य, दिलाराम आचार्य, ओम शर्मा, कुमार पोखरेल, रामचन्द्र झा आफनो धारणा राखेका थिए।



लोकपाटी न्यूज

