केन्द्रीय कमिटी बैठक लगतै प्रचण्डले भेटे माधव नेपाल

prachanda_nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता मधवकुमार नेपालसँग आइतबार भेट भएको छ। प्रचण्ड निकट स्रोतका अनुसार माओवादीको केन्द्रीय समिति बैठक सकिए लगत्तै प्रचण्ड माधव नेपालको निवास कोटेश्वर पुगेका थिए। सो भेटमा एमाले वरिष्ठ नेता झलनाथ खनाल पनि सँगै रहेको स्रोतले जनायो।

उनीहरुबीच एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबारे छलफल भएको बुझिएको छ। प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ। त्यसअघि नै ओली सरकारबारे कुनै ठोस रणनीति बनाउने गरी प्रचण्ड सक्रिय भएका छन्। प्रचण्ड र नेपालबीच अहिलेको समसायमयिक विषयमा छलफल भएको नेता नेपाल सचिवालयले जनाएको छ।

नेकपाको एकता भंग भएपछि नेपाल समूह एमालेमा फर्किएको छ। एमाले अध्यक्षले एकलौटी निर्णय गर्न थालेपछि नेता नेपाल समूह कसरी प्रस्तुत हुने भन्नेमा केन्द्रित भइरहेको बेलामा प्रचण्डसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ।

पार्टी कार्यालय पेरिसडाँडामा आज माओवादी केन्द्रीय कमिटी बैठक बसेको थियो। उक्त बैठकमा पार्टीको नाम, पार्टी छाडेर गएकाहरूसँग स्पष्टीकरण सोध्नेलगायत निर्णय भएको थियो। उक्त बैठक सकाएर अध्यक्ष प्रचण्ड सीधै नेपाल निवास कोटेश्वर पुगेका हुन्।