माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी जारी, विभिन्न छ प्रस्तावमा छलफल

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ। जारी बैठकमा विभिन्न छ वटा प्रस्तावमा केन्द्रीत रहेर छलफल भइरहेको माओवादीले जनाएको छ।

विभिन्न समयमा दिवंगत पार्टीका नेता कार्यकर्ताहरूप्रति श्रद्धाञ्जलि अर्पणपछि अहिले वर्तमान परिस्थिति सरकार र संसद् बारे छलफल भइरहेको छ। छलफलपछि सुझाव, टिप्पणी र रिपोर्टिङ गरिने बताइएको छ। बैठकमा पार्टीको संगठन, राष्ट्रिय कार्यकर्ता भेला, पार्टीको नाम र कम्युनिस्ट आन्दोलनको एकताबारे पनि छलफल हुने भएको छ।

फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक पार्टीको केन्द्रीय कमिटी बैठक बसेको हो।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्रका तर्फबाट संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। एमालेको कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय पनि बैठकले गरेको थियो।

अन्य विषयभन्दा पनि पार्टीको नाम परिवर्तन गर्ने विषयलाई महत्व दिइने बताइएको थियो। आज उक्त विषयबारे बैठकमा छलफल गर्न प्रस्ताव लगिएको स्रोतले जनाएको छ। पछिल्लो समय नाम परिवर्तन गरेर समेट्न नसकिएका नेता तथा कार्यकर्तालाई पनि पार्टीमा समावेश गर्न मिल्ने गरी नाम फेर्ने प्रस्ताव केन्द्रीय समितिको बैठकमा प्रवेश गरेको हो।