काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेससँगको छलफलमा वर्तमान विकसित घटनाक्रममा एकसाथ जाने विषयमा कुरा भएको बताएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दुई पार्टीका शीर्ष नेताहरुको छलफल भएको थियो।
‘सबै मिलेर जाने कुरा भएको छ, ठिक छ मिले जाउँ भन्यौँ,’ उनले भने, ‘अब माओवादी केन्द्रसँग पनि कुरा गर्छाैँ। त्यसपछि निष्कर्ष निकाल्छौँ।’ उनले कांग्रेस र जसपाबीच कुनै सहमति नभएको पनि बताए। उनले जेलमा रहेका आफ्ना पार्टीका नेता कार्यकर्ता छुट्नुपर्ने, मुद्दा फिर्ता हुनुपर्ने, नागरिकता विवाद समाधान गर्नुपर्नेलगायतका विषयमा छलफल भएको बताए।
कांग्रेससँगको छलफलपछि अध्यक्ष ठाकुरले आफ्ना मागहरु जसले सुन्छ आफूहरु त्यहीसँग सहकार्य गर्ने प्रतिक्रिया दिए। ‘रेशम चौधरीसहितका हाम्रा साथीहरु जेलमा छन्, छाड्नुपर्छ। नागरिकताको मुद्दा छँदैछ, मुद्दा फिर्ता पनि छँदैछ’, उनले भने, ‘हामी एमाले, माओवादी र कांग्रेस सबैसँग सम्वादमा छौँ तर अझै कुरा मिलिसकेको छैन।’
उनले आफूलाई प्रधानमन्त्री बनाउन ओलीले गरेको प्रस्तावबारे अनभिज्ञ रहेको बताए। ‘म त यो कुरा आजै सुन्दै छु। यो त मेरा लागि ‘प्लिजिङ सरप्राइज’ भयो।’
ठाकुरले जसपा सत्तारुढ र प्रतिपक्ष सबैसँग छलफलमा रहेको बताए । ‘माओवादी, कांग्रेस र प्रधानमन्त्रीसँग पनि संवाद गर्नुभयो, के निचोड निकाल्नु भयो त?’, पत्रकारहरुले सोधेको यो प्रश्नमा अन्तिममा उनले भने, ‘हाम्रा लागि सबै ओली सरकार नै हो।’ आजै जसपा संसदीय दलको बैठक सिंहदरबारमा बसेको थियो। उक्त बैठकले सरकारमा जाने नजाने कुनै टुंगो गर्न सकेन भने संसदीय दलको नेता पनि चयन गर्न नसकेर सकिएको थियो।



लोकपाटी न्यूज

