देउवाले बाेलाएकाे पदाधिकारी बैठकका लागी पाैडेल पक्षले बनायाे यस्ताे रणनिती

Sher-Bahadur-Deuba-and-Ramchandra-Paudel
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी बैठकअघि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबीच छलफल भएको छ। काँग्रेसका महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकमा काँग्रेस संस्थापन इतर पक्षका शीर्षस्थ नेताको सहभागिता रहेको थियो ।

समसामयिक राजनीतिका सन्दर्भमा विहान ९ बजे छलफल भएको एक नेताले जानकारी दिए। उनका अनुसार छलफलमा पौडेल, सिटौला, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह अर्जुननरसिंह केसी लगायतका नेताहरुको सहभागिता थियो। ‘अहिलेको वस्तुस्थितिमा नेपाली काँग्रेसको भूमिका अब आउने दिनमा कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भयो। पार्टी पदाधिकारी बैठकअघि साथीहरूबीच छलफल गरौँ भनेर बसेका हौँ,’ केसीले भने।

सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बेलाएका छन्। देउवाले पदाधिकारी बैठकपछि जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीका विषयमा छलफल गर्ने भएपछि बैठकमा जानुअघि पौडेल र सिटौला पक्षले छलफल गरेको बुझिएको छ।

भेलामा सहभागी एक नेता भन्छन्, ‘पदाधिकारी बैठकमा सभापतिजीलाई आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नुस्, हाम्रो सहयोग रहन्छ भन्छौं ।’ एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको सहयोग लिन खोजेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन् ।

नेता केसीले यतिबेला काँग्रेसले सरकारमा जानेभन्दा वैकल्पिक सरकार दिनुपर्ने बताए। ‘बैठकमा मैले वर्तमान परिस्थितिमा काँग्रेसले सरकारमा जानेभन्दा वैकल्पिक सरकार दिनुपर्छ भनेको हुँ। काँग्रेसको अग्रसरतामा वैकल्पिक सरकार बन्नुपर्छ भन्ने मेरो मान्यता छ।’ यद्यपि वैकल्पिक सरकार दिने अवस्थामा आइपरेको खण्डमा सरकार नेतृत्व लिन पनि पछि हट्नुपर्ने उनको भनाइ छ।

महामन्त्री कोइरालानिकट स्रोतका अनुसार आजको छलफलले केपी ओलीको विकल्प दिनुपर्नेमा निष्कर्ष निकालेको छ। नेता केसीझैँ अन्य नेताहरुले पनि सोही खालको धारणा राखेको थिए। सोही ढंगले पदाधिकारी बैठक प्रस्तुत हुने पौडेल–सिटौला समूहको रणनीति छ।