काठमाडौं। नेकपा माओवादी केन्द्रले पुरानै संगठनलाई ब्युँताउने गरी छलफल अघि बढाएको छ। नयाँ परिस्थितिअनुसार सांगठनिक कामलाई पूर्णता दिन बनेको माओवादी केन्द्रको चार सदस्यीय कार्यदलको पहिलो बैठकमा पुरानै संगठनलाई ब्युँताउनेबारेमा छलफल अघि बढेको हो।
बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा झन्डै चार घण्टा बसेको पहिलो बैठकमा कार्यदलका सदस्यहरूले संगठनात्मक क्षेत्रमा गर्नुपर्ने व्यवस्थापनका कामका बारेमा आ-आफ्ना धारणा प्रस्तुत गरेको कार्यदल सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए।
‘पहिलो बैठकमा कार्यदल सदस्यहरूले आ-आफ्ना धारणा राख्नुभयो। त्यसमा विभिन्न विषयहरू परेका छन्। भोलि अर्को बैठक बसेर थप खाका बन्नेछन्,’ पोखरेलको भनाइ छ। बुधवार बसेको माओवादी स्थायी समितिको बैठकले नेताहरू जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन र गिरिराजमणि पोखरेल सम्मिलित कार्यदल गठन गरेको थियो।
पोखरेलका अनुसार सर्वोच्चको फैसलापछिको अवस्थामा पार्टीमा आएको उतारचढाव, विभिन्न पार्टी कमिटीमा रहेका रिक्त स्थानको पदपूर्ति, अन्य पार्टीबाट आएकाहरूको व्यवस्थापन लगायतका विषयलाई समेटेर प्रतिवेदन तयार पारिनेछ। त्यसमा विशेषतः पुरानै संगठनलाई ब्युँताइनेछ। कार्यदलको अर्को बैठक शुक्रवार पुनः बस्ने छ।



लोकपाटी न्यूज

