चाड-पर्वले एकता र मेलमिलापका आधार खडा गरेको छ : देउवा

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको बताएका छन्। महाशिवरात्रिको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै देउवाले प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको बताएका छन्।

‘नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो। यस मध्ये हिन्दु धर्मावलम्वीहरुले अति श्रद्धाका साथ भगवान शिवको आराधना गरेर मनाइने ‘महाशिवरात्रि’ एक महत्वपूर्ण र पवित्र पर्व हो। प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ। हाम्रा यी सबै चाड-पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहरहरु हुन्,’ उनले भनेका छन्।

‘यी चाड-पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएका छन्,’ देउवाले शुभकामना सन्देशमा भनेका छन्, ‘महाशिवरात्रिको यस अवसरमा म आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण हिन्दु धर्मावलम्वी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सदा सु:ख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।