प्रचण्डसँग छलफल गर्न जसपा नेताहरू पेरिसडाँडामा

Nekapa_Perishdada
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न जसपाका नेताहरु माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्।

छलफलमा अध्यक्ष प्रचण्ड र जसपाबाट महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो सहभागी छन्। सो भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल चलिरहेको माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले जानकारी दिए। सरकार गठनका विषयमा छलफल भइरहेको ती नेताले बताए।

यसअघि हिजो र आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो। प्रचण्डले मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरिदिएपछि नयाँ सत्ता समिकरणको प्रयास अगाडि बढेका छन्। आजै संसद भवनमा जसपाका नेताहरूले रेशम चौधरीलगायत मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मुद्दालाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने बताएका थिए।