माओवादी केन्द्रमा फर्किने सम्भावना छैन : लेखराज भट्ट

lekhraj_bhatta
लोकपाटी न्यूज

काठमाडौं। उद्योगमन्त्री लेखराज भट्टले नेकपा माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन्। संसद् बैठक सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भट्टले पार्टीले समर्थन फिर्ता लिए पनि आफू नफर्कने बताएका हुन्।

सांसद पद गए पनि जाओस् भन्नेमा हुनुहुन्छ भन्ने संचारकर्मीको प्रश्नमा उनले भने, ‘त्यसको कानूनी व्यवस्थाबारे पनि छलफल भइरहेको छ।’ सर्वोच्च अदालतले नेकपा दलको नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपाल पक्ष एमालेमै फर्किएको छ। पूर्वमाओवादी खेमाबाट ओली समूहमा गएका नेता पूर्ववत पार्टीमा नफर्किने बताउदै आएका छन्। वर्तमान सरकारमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, मणि थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरी मन्त्री छन्।

यसअघि, खानेपानी मन्त्रीको जिम्मेवारीमा रहेका मणि थापाले माओवादी केन्द्रमा नफर्किने बताइसकेका छन। खानेपानीमन्त्री मणि थापाले भने, ‘सरकारमा रहेका कुनै पनि पूर्वमाओवादी मन्त्रीहरु पूर्वमाओवादीमा फर्किने सोचमा छैनन्। ‘सबैले राजनीतिक निर्णय लिनुभएको हो सायद त्यसैमा रहनुहुन्छ।’

मन्त्री थापाले सर्वोच्चले नेकपा फुटाएको भन्दै उक्त फैसलालाई मान्नुको विकल्प नरहेको बताए। मन्त्री थापाले आफूहरुले नेकपाभित्रको अन्तरसंघर्षमा केपी ओलीलाई समर्थन गरेको बताए। राजनीतिक समर्थनलाई अदालतको फैसलाले तलमाथि नगर्ने मन्त्री थापाले बताए।