काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ सत्ता समिकरणका लागि कसरत बढाएका छन्। सुरुमा आफ्नो पार्टीभित्र छलफल गरेर कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय भएलगत्तै प्रचण्डले नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए।
शेरबहादुर देउवालाई भेटेपछि उनी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट्न टोखा पुगेका छन्। विकसित राजनीतिक घटनाक्रमपछि नेताहरुबीच भेटघाट तीव्र बनेको हो। एकपक्षीय र दुईपक्षीय भेटघाट बाक्लिएको छ।
देउवासँग भेटमा अध्यक्ष प्रचण्डले मिलेर नयाँ सरकार गठनको प्रस्ताव राखेका थिए । जवाफमा देउवाले पार्टीभित्र सल्लाह गरेर निर्णय दिने बताएका छन्। देउवाले माओवादीका मन्त्रीहरु फिर्ता नगरेकोबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए। देउवासँगको भेटपछि अध्यक्ष प्रचण्डले बाबुरामसँग उनकै निवास पुगेर भेट गरेका छन्। जसपाको प्रतिनिधित्व हुने गरी सरकारमा सहभागी हुन प्रचण्डले प्रस्ताव राखेको स्रोतले जानकारी दियो।
‘अोली नेतृत्वको सरकारले देशलाई निकास दिन सकेन भन्ने विषयमा देउवाजीसँग छलफल भएको छ। उहाँले यसलाई पोजिटिभ रुपमा लिनुभएको छ’, प्रचण्ड निकट एक नेताले भने, ‘केपी शर्मा ओलीलाई हटाएर कांग्रेस र जसपा मिलेर नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको छ’, प्रचण्ड निकट एक नेताले भने।



लोकपाटी न्यूज

