काठमाडौं। जनता समाजवादी पार्टीको संसदीय दलले सरकारसँग थुनामा रहेका निलम्बित सांसद रेशम चौधरी, संविधान संशोधन, लाल आयोगको प्रतिवेदनलगायत विषयमा छलफल गर्न पाँच सदस्यीय वार्ता टोली गठन गर्ने भएको छ। भोलिसम्ममा वार्ता टोली गठन हुने सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिए। नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले सरकार पक्षसँग अनौपचारिक रुपमा छलफल गरेको त्यसलाई पूर्णता दिने उनले बताए।
सरकारको विषयमा आफूहरुले उठाउँदै आएका मुद्दाहरु नगद मा समाधान भएपछि मात्रै हुन सक्ने उनी बताउँछन्। ‘रेशम चौधरीलगायत सयौं मान्छे थुनामा छन्। लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधनलगायतको कुरा छ। यी कुरा मिलिसकेपछि र सम्मानजनक सहभागिताको कुरा हुन सक्छ,’ उनले भने।
नेता राजेन्द्र महतोले पनि मुद्दा केन्द्रित रहेर वार्ता गर्न चाहने सबै पक्षसँग वार्ता गर्ने महतोले बताए। सरकारका विषयमा भने पहिले मुद्दाको सम्बोधन गरे मात्रै सोच्न सकिने उनले बताए। ‘उधारो खेती हुँदैन। मुद्दालाई केन्द्रित राखेर सबैसँग कुरा गर्ने हो। गर्छौँ भनेर मात्रै हुँदैन धेरैपटक भनिसकियो। अब उधारो होइन् नगदमा चाहिन्छ,’ महतोले संसदीय दलको बैठकपछि भने।



लोकपाटी न्यूज

