एमालेसँग वार्ता गर्न जसपाले बनायो वार्ता टोली

mahanta-thakur
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले) र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल बनाएका छन्। जसपा सांसद लक्ष्मणलाल कर्णले रेशम चौधरीका मुद्दा फिर्ता लिनेलगायत विषयमा छलफल गर्न कार्यदल बनेको बताए। वार्ता टोलीमा नेताहरु लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।

उक्त कार्यदलको सोमबार प्रारम्भिक चरणको वार्तासमेत भइसकेको छ। सरकार गठनजस्ता विषयमा भने कार्यदलमा छलफल नहुने कर्णको दाबी छ। यो कार्यदलमा एमालेबाट सुवासचन्द्र नेम्वाङलगायत नेता छन्। सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने भएका छन्।

त्यसैले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्नेछ। एमालेबाट प्रतिनिधि सभामा १२० सांसद छन्। सरकार बनाउन १३८ जना सांसद चाहिन्छ। प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् त्यसमध्ये दुई जना निलम्बनमा छन्।

कैलालीको टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई रिहा गर्ने विषयमा सोमबार भएको वार्तामा सरकारी टोली सकारात्मक देखिएको बताइएको छ। वार्तामा सहभागी कर्णले सँग भने, ‘रेशम चौधरीलगायत अन्यलाई छाड्न सरकारको नेतृत्व गरिरहेको दलसँग हिजो वार्ता भएको हो, वार्ता सकारात्मक भयो।’

सरकारी टोलीले नै वार्ता गर्न बोलाएपछि आफूहरु वार्तामा गएको कर्णले बताए। ‘प्रधानमन्त्री ओलीका सल्लाहकार र नेताले हामी प्रधानमन्त्रीका प्रतिनिधि हौं, वार्ता गर्न आउनुस् भनेपछि गएका हौं, हामीले राखेका कुरा सुन्नुभयो र हामीले पनि सुन्यौं, उहाँहरुको कुरा सकारात्मक थियो।’ तर सत्ता सहकार्यका बारेमा कुनै छलफल नभएको कर्णले बताए।

कैलालीको टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दीपायलले गत पुस २ गते जन्मकैदको फैसला सुनाएको थियो। २०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो। सोही घटनाको योजना बनाई नेतृत्व गरेको आरोपमा यसअघि चौधरीसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालतले तीमध्ये चौधरीसहित ७ जनाको सजाय सदर गरेको थियो।