चैत १ गते कार्यकर्ता भेला गर्ने माओवादी केन्द्रको निर्णय

Mawobadhi _kendra
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बसेको हो। बैठकमा आगामी राजनीतिक परिस्थित र सत्ता समीकरणबारे छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए।

बैठकले फागुन २९ केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको उनले बताए। साथै नयाँ राजनीतिक घटनाक्रमको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको उनले बताए।

‘संसद सञ्चालन, सरकार निर्माणको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय भएको छ,’ श्रेष्ठले भने। श्रेष्ठले एमालेसँग पनि यो विषयमा छलफल हुने तर प्राथमिकतामा कांग्रेस र जसपा रहेको प्रष्ट पारे। सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र आ-आफ्नो कित्तामा लागेका छन्।

सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको थियो। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा फर्काएको हो।