माओवादी केन्द्रमा फर्किने लेखराज भट्टको संकेत

Lekhraj_Batta
लोकपाटी न्यूज

काठमाडौं। एकीकृत नेकपाको आन्तरिक राजनीतिक मामिलापछि ओली समूहमा पुगेका लेखराज भट्टले नेकपा माओवादी केन्द्रमा फर्किने संकेत गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका भट्टले यस विषयमा ‘फाष्ट ट्याक’बाट निर्णय लिने जनाएका छन्।

यद्यपि उनले आफूहरू नेकपा एमालेमै रहने वा माओवादी केन्द्रमा फर्किने भन्ने विषयमा ओली समूहमा पुगेका माओवादी नेताहरुबीच छलफलमै रहेको बताएका छन्। गृहमन्त्री रामबहादुर थापा लगायतसँग नेताहरूसँग छलफल गरेर आफ्नो धारणा बनाउने भट्टले बताए। तर आफूहरू यस विषयमा ‘फाष्ट ट्याक’मै निर्णय लिने उनको भनाई छ।

संसद् विघटन गर्ने सरकारको निर्णयपछि एकीकृत नेकपाका नेताहरू दुई समूहमा विभाजित भएका थिए। एकीकृत नेकपा विभाजित हुँदा पूर्वमाओवादी नेता भट्ट प्रधानमन्त्री ओलीप्रति नरम थिए। नेकपा हुँदा माओवादी केन्द्रका तर्फबाट स्थायी समिति सदस्य बनेका भट्ट र रायमाझी प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको पक्षमा उभिएर सम्बन्ध थप बलियो बनाएका हुन्।

रायमाझीलाई पुस १० गते ओलीले मन्त्री नै नियुक्त गरे। तर अदालतको फैसलापछि अप्ठेरो अवस्थामा रहेका उनले ओलीतिर रहने कि माओवादी केन्द्रमा फर्कने भन्नेबारे छलफल गरिरहेको र एक दुई दिनमा निर्णय गर्ने बताए। ‘अहिलेसम्म कता बस्ने मैले निर्णय गरिसकेको छैन,’ भट्टले भने, ‘मलाई कसैले फोन गरेको छैन, मैले पनि कसैलाई सम्पर्क गरेको छैन। तर अब कता रहने भन्नेबारे हामी फास्ट ट्याकमै निर्णय गछौं।’

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र एकीकृत भई बनेको नेकपालाई मान्यता नदिएर पुरानै अवस्थामा फर्काएपछि नयाँ रणनीति तय गर्न माओवादी केन्द्रको आज स्थायी समितिको बैठक राखिएको छ। भट्टका स्वकीय सचिव हितेश ओझाले आज बोलाइएको स्थायी समितिको बैठकमा सहभागी नहुने बताए। ‘आज बस्ने स्थायी समितिको बैठकमा जाँदैनौं,’ ओझाले भने।

अर्का स्थायी समिति सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले पनि ओलीतिर रहने कि प्रचण्डले नेतृत्वको गरेको माओवादीतर्फ फर्कने भन्ने विषयमा छलफल चलिरहेको बताए। ‘अहिले हामी छलफलमै छौँ, कता रहने निर्णय गरिसकेका छैनौँ,’ रायमाझीले भने। उनले ओलीतिर रहने सम्भावना उच्च रहेको संकेत गरे। उनले भने, ‘अहिलेकै गन्तव्यमा (ओली समूह)मा अघि बढिरहने नै हुन्छ।’