पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।

पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता भंग गरेर पूर्ववतः पार्टी नै ब्युँताइदिएपछि माओवादी केन्द्रको पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो।

बैठकमा माओवादी केन्द्रका मुख्य नेता र स्थायी कमिटी सदस्य सहभागी छन्। नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्च अदालतले गएको आइतबार ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएको छ। माओवादी केन्द्र ब्युँतिएपछि पहिलो पटक बैठक बसेको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारलाई दिएको समर्थनका विषयमा छलफल हुने नेताहरुले बताएका छन्। साथै आगामी राजनीतिक परिस्थित र सत्ता समिकरणबारे छलफल हुने बताइएको छ। सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र आ-आफ्नो कित्तामा लागेका छन्।

नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदरपश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग-अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चले जनाएको छ।