प्रधानमन्त्री ओलीले अध्यादेशबारे झुट बोले : गगन थापा

Gagan Thapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका नेता गगन थापाले एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले झूट बोलेको बताएका छन्। नेपाली कांग्रेसले प्रतिनिधिसभामा संवैधानिक परिषदको सिफारिस विरुद्ध गरिएको विरोधलाई ओलीले अन्यत्रै मोडेकोप्रति नेता थापाले विरोध जनाए।

आइतवारको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रधानमन्त्री ओलीका तर्फबाट कानुन मन्त्री लिलानाथ श्रेष्ठले पेश गर्दै गर्दा काँग्रेसले रोस्टम घेराउ गरेको थियो। काँग्रेसलाई जसपाका सांसदहरुले पनि साथ दिएको थियो। त्यसपछि प्रतिनिधि सभा बैठक बुधवारसम्मका लागि स्थगित भयो।

तर मंगलवार प्रधानमन्त्री ओलीले एसिड आक्रमण विरुद्धको कानुन रोक्न काँग्रेसलगायतका नेताहरुले संसदमा सेटिङ गरेको गम्भीर आरोप लगाए। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ओलीले एसिड आक्रमणविरुद्धको कानुन रोक्न दाहाल-नेपाल समूह, नेपाली कांग्रेस र जसपाले अवरोध गरेको आरोप लगाएका हुन्।

प्रधानमन्त्रीले उक्त कार्यक्रममा भनेका थिए, ‘एसिड आक्रमणविरुद्धको अध्यादेश सरकारले टेबल गर्न आँट्यो। फेल गरे भइगो नि सक्छौ भने। फेल गर्ने आँट कसैको छ ? … एसिड छ्याप्न हुने, अध्यादेश ल्याउन नहुने ?’ सोही विषयमा कांग्रेस नेता थापाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गरेको कुरामा आफूहरुले विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिटेको बताए।

सामाजिक सञ्‍जालमा उनले लेखेका छन्, ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने,त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने? झूट प्रधानमन्त्रीज्यू! एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानुन बनाउन हामी सदनमा प्रतीक्षारत छौँ।’

गत असोज १२ गते मन्त्रिपरिषद्को सिफारिसमा तेजाब आक्रमणका दोषीहरुलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन्। संशोधित कानुनअनुसार एसिड छ्यापे २० वर्षसम्म कैद र १० लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।