मा‌ओवादी केन्द्रको बैठक बस्दै, ओलीलाई दिएको समर्थन होला त फिर्ता ?

Nekapa_Perishdada
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक डाकेको छ। बैठक मंगलबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए। बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठकमा माओवादी केन्द्रका मुख्य नेता र स्थायी कमिटी सदस्य सहभागी हुने जनाइएको छ।

नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्च अदालतले गएको आइतबार ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएको छ। माओवादी केन्द्र ब्युँतिएपछि पहिलो पटक बैठक बस्न लागेको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारलाई दिएको समर्थनका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

आगामी राजनीतिक परिस्थित र सत्ता समिकरणबारे छलफल हुने बताइएको छ। सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र आ-आफ्नो कित्तामा लागेका छन्। नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदरपश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग-अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चले जनाएको छ।