पेट्रोलियम पदार्थमा चोरी गर्ने १३ सय ट्यांकर कारवाहीमा

लोकपाटी न्यूज

काठमाडौं। नेपाल आयल निगमका डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १३ सय ट्यांकर पेट्रोलियम चोरीमा संलग्न रहेको पाइएको छ। ती ट्यांकर भारतदेखि नेपालका केन्द्रीय र प्रादेशिक डिपोसम्म इन्धन ढुवानी गर्दा अपचलनमा संलग्न भएको निगम बताउँछ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार, ती ट्यांकरले फल्स च्याम्बर बनाएर तेल चोर्ने, सर्भिस ट्यांकमा पाइप जडान गरेर तेल झिक्ने, मिसावट गर्ने लगायतका अपचलन गरेका थिए। ती सबै ट्यांकरलाई कारबाही गरेको दाबी पनि उनले गरे। पौडेलका अनुसार, निगमले इन्धन ढुवानी गर्न १८ सय ट्यांकरसँग करार गरेको छ। यीमध्ये ७२ प्रतिशतभन्दा बढी ट्यांकर तेल चोरीमा संलग्न देखिएका छन्।

भारतको बरौनी डिपोबाट पेट्रोल उठाएका दुईवटा ट्यांकर गत मंसिर ३ गते निगमको बागमती प्रादेशिक डिपो, थानकोट आइपुगे। वीर बेताल आशिर्वाद कम्पनीको ना७ख ३९९६ र ना७ख २९९५ नम्बरको ती ट्यांकरले नियमित जस्तैगरी निगमको भण्डारण केन्द्रमा पेट्रोल खन्याए।

बरौनी डिपोबाट जुनसुकै ट्यांकरले २० हजार लिटर पेट्रोल बोक्छन्। तर, ती दुई ट्यांकरले एक(एक हजार लिटर कम पेट्रोल थानकोट डिपोमा खन्याए। उनीहरुले करिब एक(एक लाख रुपैयाँको तेल बाटैमा गायव पारेका थिए। निगम र नापतौल तथा गुणस्तर विभागका प्राविधिकहरुले फल्स च्याम्बर बनाएर ती ट्यांकरले पेट्रोल चोरेको पत्ता लागेको थियो।

मंसिरदेखि माघ अन्तिसम्म ट्यांकरहरुले तीन किसिमले चोरी गरेको पाइएको निगमका अधिकारीहरु बताउँछन्। फल्स च्याम्बर बनाएर ट्यांकरभित्रै इन्धन लुकाउने, पेट्रोल झिकेर मट्टीतेल मिसाउने र ठूलो परिमाणको चोरी नदेखिनेगरी थोरै(थोरै झिक्ने गरेको पाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

पेट्रोलियम अपचलन गर्ने पाँच जना चालक तथा सहचालकलाई कालोबजारी मुद्दा चलाएको निगमको दाबी छ। यीमध्ये दुई जना धरौटीमा छुटेका छन्। अन्य दर्जनौं ढुवानीकर्तालाई जरिवानासहित दुई सातासम्म प्रतिबन्ध लगाएको निगमका प्रवक्ता उपाध्याय बताउँछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्