दैलेख। सोमबार दैलेखको आठविस नगरपालिका-३ निमाईलकी एक महिलाले आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन्।
आमासहित ४ जना बालबालिकाले नदीमा हाम फालेकोमा २ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरीउपरिक्षक अनुपम श्रेष्ठले बताए। जिल्लाको आठबिस नगरपालिका-३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन्।
कर्णाली नदीमा हाम फालेका १४ वर्षीया कल्पना बडुवाल,११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका -४ कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए।
आमा सुकीसहित १० वर्षीय छोरा ललित र पाँच वर्षीया छोरी रजनीको खोजी भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता रहेकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।



लोकपाटी न्यूज
