सर्वोच्चको फैसला बेठिक समयको न्याय : देव गुरुङ

deb gurung
लोकपाटी न्यूज

काठमाडौं। प्रचण्ड-माधव पक्षका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले (ओली-प्रचण्ड) नेतृत्वको नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठिक टाईम’को न्यायको संज्ञा दिएका छन्। सिंहदरबारमा सञ्चारकर्मीलाई फैसलाबारे प्रारम्भिक प्रतिक्रिया दिँदै नेता गुरुङले ‘बेठिक टाईम’मा न्याय दिने काम भएको बताएका हुन्।

उनले अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको ‘डेढलक’लाई अझै मद्दत पुग्न सक्ने बताए। उनले फैसलासँगै पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रलाई ब्यूँताइ यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे। उनले पार्टी एकीकरणपछि ३ वर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवशेष मेटिन नसक्ने उल्लेख गरे।

उनले भने, ‘जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्वाचन आयोगमा परिरहेको वहसको सम्बन्धमा केही केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ। अहिले चाहीँ उपयुक्त समय हो भन्ने देँखिदैन। न्याय इनटाइममा दिनुपर्थ्यो। बेठीक टाइममा चाहीँ न्याय दिने काम भयो। यसले पार्ने साईडइफेक्टहरु के कस्तो पार्छ हाम्ले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला। यसले निर्वाचन आयोगको डेढलकलाई अझ मद्दत पुग्न सक्छ। यथास्थितिमा सायद जाँदैन। नामको बारेमा मात्रै गरेको हो। तीन वर्षमा धेरै काम भएको छ।’

उनले सर्वोच्च अदालतको फैसलालाई नमान्ने कुरा नभएपनि यसले विभिन्न ठाउँमा साइडइफेक्ट पार्ने बताए।