प्रचण्ड–नेपाल पक्षले बोलायो संसदीय दलको आकस्मिक बैठक

लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षको संसदीय दलको बैठक केही बेरमै बस्न लागेको छ। प्रचण्ड-नेपाल समूहले आकस्मिक संसदीय दलको बैठक बोलाएको हाे। बैठकको तयारीका लागि नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छलफलमा व्यस्त छन्।

 नेकपा संसदीय दलको कार्यालयमा सांसदहरु जम्मा हुने क्रम जारी छ। आज बिहान अध्यक्षद्वय प्रचण्ड र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल तथा प्रमुख सचेतक देव गुरुङ र कृष्णभक्त पोखरेलले सभामुखसँग परामर्श गरेका थिए। परामर्शलगत्तै संसदीय दल बैठकको तयारी गरेको हो।

प्रधानमन्त्रीले राजीनामा नदिए अविश्‍वास प्रस्ताव दर्ता गर्ने तयारी दाहाल-नेपाल समूहको थियो। नेकपा दाहाल–नेपाल समूहले संसदीय दलको नेता परिवर्तनबारे बहुमत सदस्यले गरेको निर्णयका बारेमा सभामुख अग्नि सापकोटालाई जानकारी गराएका छन्। अनौपचारिकरुपमा बसेको बैठकपछि नेताहरु सापकोटालाई जानकारी गराउन पुगेका हुन् । तर आज प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बारेमा कुनै निर्णय भएको छैन।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम खारेज गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बोलाउन दिएको परमादेशअनुसार आइतबारदेखि प्रतिनिधिसभाको अधिवेशन सुरु हुँदैछ। पाँच वर्षका लागि निर्वाचित प्रतिनिधिसभाको कार्यकाल दुई वर्ष बाँकी रहँदै प्रधानमन्त्री ओलीले विघटन गरिदिएका थिए, तर सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएपछि संसद् अधिवेशन आज सुरु हुन लागेको हो।

संसद् पुनस्र्थापनापछि पनि नैतिकताका आधारमा राजीनामा नदिएका ओली आफैँले विघटन गरेको संसद्बाट विरोधीसँग टकराव गर्ने मनस्थितिमा छन्। यद्यपि, शनिबार साँझसम्म प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने विषयमा ठोस प्रगति भएको छैन।

दुई अधिवेशनबीचको अवधि ६ महिनाभन्दा धेरै हुन नहुने संवैधानिक व्यवस्थाअनुसार १७ पुसमै संसद् बैठक सुरु हुनुपर्ने थियो। तर, १२ दिनअघि नै प्रधानमन्त्री ओलीले ५ पुसमा संसद् विघटन गरेपछि सातौँ अधिवेशन बस्न सकेको थिएन। तर, सर्वोच्च अदालतले ११ फागुनमा प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले २३ फागुन (आइतबार)का लागि बैठक आह्वान गरेकी थिइन्।