ओली समूह छाडेर सांसद शर्मा प्रचण्ड-नेपाल पक्षमा

लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहकी सांसद विष्णु शर्मा नेकपा प्रचण्ड-नेपाल पक्षमा लागेकी छन्। संसद बैठक सुरु हुने दिन आइतबार सांसद शर्मा प्रचण्ड-नेपाल पक्षमा खुलेको बताइएको छ।

नेकपा प्रचण्ड-नेपाल पक्षका नेता तथा सांसद कृष्णबहादुर महराले सांसद शर्मा आफ्नो पक्षमा खुलेको जानकारी दिए। उनले भने, ‘सांसद विष्णु शर्मा प्रचण्ड-नेपाल समूहमा खुल्नुभएको छ।’ उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल निकट थिइन्। प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको र पार्टी हित विपरीत कार्य गरेका कारण आफूले उक्त समूह छाडेको उनले प्रतिक्रिया दिएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि आजबाट संसद्को सातौँ अधिवेशन सुरु हुँदैछ। संसद अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव पारित गर्ने र नयाँ प्रधानमन्त्री चयन गर्ने तयारी रहेको हुँदा तटस्थ अवस्थामा रहेका सांसदहरू को कता लाग्छन् भन्ने निकै महत्त्वपूर्ण मानिएको छ।