वामदेव गौतमलाई संसदीय दलको बैठकमा सहभागी हुन ओलीको आग्रह

oli-bamdev
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको केपी शर्मा ओली समूहले संसदीय दलको बैठक शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। नेकपाको प्रचण्ड-नेपाल पक्षले ओलीलाई संसदीय दलको नेताबाट हटाएको भोलिपल्ट ओली समूहले संसदीय दलको बैठक बोलाएको हो।

प्रचण्ड-नेपाल पक्षले आफ्नो पक्षमा १११ सांसद रहेको दाबी गरेको छ। ओली समूहले पनि संसदीय दलमा आफ्नै बहुमत रहेको दाबी गरिरहेको छ। बैठकमा ११५ जना भन्दा बढी सांसदहरू उपस्थित हुने ओली समूहको दाबी छ। प्रधानमन्त्री ओलीले नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पनि बैठकमा आउन आग्रह गरेका छन्।

शुक्रवार साँझ भैंसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले शनिवार बस्ने संसदीय दलको बैठकमा निमन्त्रणा गरेका हुन्। प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरे लगत्तै विभाजित नेकपाको कुनै पनि समूहमा लागेका छैन।

उपाध्यक्ष गौतमले अहिले पार्टी एकता अभियानमा लागेका छन्। भैँसेपाटीमा ओलीसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले कारबाही गरेका संसदीय दलका उप नेता सुवास नेम्वाङ, ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमालगायत नेताहरू पनि पुगेका थिए। त्यस क्रममा ओलीले गौतमलाई आफूतिर आएर आफ्नो उत्तराधिकारी बनाउने प्रस्ताव गरेको चर्चासमेत भएको छ।