काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिएका छन्। आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी केहीबेर अगाडि काठमाडौं भित्रिएका हुन् । सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं आइपुगेका छन्।
आफ्नो समूहमाथिको प्रतिबन्ध फुकुवा भएपछि शुक्रवार विहान उनि पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका थिए। शुक्रवार दिउँसो राष्ट्रिय सभामा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्दैछन्। सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने छन्।
सम्वोधन अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन्। विप्लव समूहका एक नेताले भने–‘बालुवाटारमा प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ त्यसपछि उहाँ कार्यक्रम स्थलमा जानुहुन्छ।’ समारोहमा सहभागी हुन विप्लव काठमाडौं जान लागेको सूचना पाएपछि प्रहरीले चितवनबाट स्कर्टिङ गरेको थियो।



लोकपाटी न्यूज

