काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अभाव नहुने बताएको छ। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कृषिमन्त्री पदमाकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य भएको घोषणा गरिन्।
‘हामीलाई शंका थियो, तर यसमा सफलता प्राप्त गर्यौं। मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिङ्गो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौं,’ उनले भनिन्। उनले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी पनि गरिन्।
तत्कालीन समाधानका रूपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालीन समाधानको रूपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति र दीर्घकालीन समाधाका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालयले तयारी थालेको उनले बताइन्। मलको समस्या रहिरहन नदिन सातवटै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने मन्त्री अर्यालको भनाइ छ।
चालु आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब रूपैयाँ बजेटमध्येबाट पाँच लाख मेट्रिक टन (युरिया मल दुई लाख ८२ हजार पाँच सय, डीएपी दुई लाख दुई हजार पाँच सय र पोटास १५ हजार टन) आयात गर्ने योजना रहेको उनले बताइन्। जसमध्ये चालु आर्थिक वर्षमा एक लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको छ भने एक लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको छ। गत वर्ष जम्मा तीन लाख ९४ हजार छ सय मेट्रिक टन मल बिक्री भएको थियो।
यस आर्थिक वर्षको आयातबाट जम्मा दुई लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात (बफर स्टक) रहने देखिन्छ। पछिल्ला तीन वर्षको बिक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा एक लाख तीन हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ।
जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पूर्ति हुने देखिन्छ। आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधिमा करिब तीन लाख मेट्रिक टन मल आपूर्तिका लागि यही महिनाबाट आयात प्रक्रिया सुरू गरिने मन्त्री अर्यालले बताइन्।



लोकपाटी न्यूज

