काठमाडौँ। वार्ता जारी रहेकाले नेत्र विक्रम चन्द विप्लवका नेता, कार्यकर्तालाई पक्राउ नगर्न गृह मन्त्रालयले प्रहरीलाई मौखक निर्देशन दिएको खुलेको छ। बुधबारदेखि सरकार र विप्लव नेकपाबिच वार्ता जारी छ। वार्ता जारी रहेकाले विप्लव नेकपा माओवादीका नेता, कार्यकर्तालाई पक्राउ नगर्न मन्त्रालयले प्रहरीलाई मौखिक निर्देशन दिएको स्रोतले बताएको छ।
मंगलबार सरकारले वार्ता टोली गठन गरे लगत्तै गृह मन्त्रालयले प्रहरीलाई त्यस्तो निर्देशन दिएको हो। मंगलबार दुवै तर्फबाट वार्ता टोली गठन भएपछि बुधबारदेखि वार्ता भइरहेको छ।
सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गरेको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्धको घोषणा गरेका थियो। प्रतिबन्ध लगाएको दुई वर्षको अवधिमा देशका विभिन्न ठाउँबाट २ हजार ६४ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ परेका २ हजार ६४ जनामध्ये १ हजार ९ सय ७४ जनालाई मुद्दा चलाइएको थियो भने मुद्दा दर्ता भएका मध्ये १ हजार ८ सय ६ जना छुटेका छन्। यस्तै १ सय ३६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।



लोकपाटी न्यूज

