नेकपाले संसदीय दलको नेताबाट केपी ओलीलाई हटायो

Nekapa_Baithak
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ। बुधवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो।

यसअघि माघ ११ गते ओलीलाई साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको थियो। त्यसै गरी बैठकले सुवास नेम्वाङलाई दलको उपनेताबाट हटाउने निर्णय पनि गरेको छ। संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

बैठकले उनीहरूसहित पार्टीका ७ जना नेतालाई कारबाही गरेको छ। कारबाहीमा पर्नेमा नेम्वाङ, चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापा रहेका छन्। उनीहरूलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो। तर, पुस ५ यता भएका पार्टीका निर्णयहरूलाई निर्वाचन आयोगले मान्यता नदिएपछि प्रचण्ड-नेपाल पक्षको संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा लग्ने निर्णय गरेको थियो।