काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपाको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति बैठक बस्न लागेको हो। केन्द्रीय समितिको बैठक बस्नुअघि बुधबार नै स्थायी समिति बैठक बसेको थियो।
केही बेरअघि सकिएको स्थायी समिति बैठकले संसदीय दलको नेता फेर्ने एजेण्डा केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो। साथै निर्वाचन आयोगमा आधिकारिताका लागि दबाब दिने निर्णय पनि गरेको थियो। स्थायी समितिले गरेको निर्णय केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने बताइएको छ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-माधव पक्षले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो। तर, पुस ५ यता भएका पार्टीका निर्णयहरूलाई निर्वाचन आयोगले मान्यता नदिएपछि प्रचण्ड-माधव पक्षले संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा लग्ने निर्णय गरेको हो।
सोमबार बसेको नेकपा सचिवालय बैठकले नागरिकता र पार्टीको परिचयपत्रसहित केन्द्रीय बैठकमा उपस्थित हुनु सर्कुलर जारी गरेको थियो।



लोकपाटी न्यूज

