संसदीय दलको नेता फेर्ने नेकपा स्थायी समितिको निर्णय

nekapa_sthai
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको नेकपाको प्रचण्ड-माधव पक्षीय स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो।

स्थायी समिति बैठकले संसदीय दलको नेता फेर्ने एजेन्डा केन्द्रीय समितिको बैठकमा लैजाने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। केहीबेर अघि सकिएको स्थायी समिति बैठकले केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गरेको हो। संसदीय दलको नेता फेर्ने एजेण्डालाई अहिले केही बेरमा बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने छ।

स्थायी समिति बैठकले २३ गते बस्ने संसद् बैठकमा प्रभावकारी उपस्थिति देखाउने पनि निर्णय गरेको स्थायी समिति सदस्य गणेश शाहले बताए। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो।

तर, पुस ५ यता भएका पार्टीका निर्णयहरूलाई निर्वाचन आयोगले मान्यता नदिएपछि प्रचण्ड-नेपाल पक्षको संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लग्ने निर्णय गरेको हो। केहीबेरपछि नेकपा पार्टी कार्यालय पेरिस डाँडामा केन्द्रीय कमिटी बैठक बस्दैछ।

सोमबार बसेको नेकपा सचिवालय बैठकले नागरिकता र पार्टीको परिचयपत्रसहित केन्द्रीय बैठकमा उपस्थित हुन केन्द्रीय सदस्यलाई सर्कुलर गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा गरिएको थियो।

तर, प्रधानमन्त्री ओली सरकार छाड्ने मुडमा नदेखिएपछि प्रचण्ड-माधव पक्ष दबाबमा छ। प्रचण्ड-माधव पक्षले यसअघि नै दर्ता गराएको अविश्वास प्रस्तावमाथि भने अन्य दलसँग छलफल गरेर अघि बढाउने तयारी गरेको छ।