काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरु भएको छ। केन्द्रीय समिति बैठक बस्नुअघि नेकपाको प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठक सुरु भएको हो।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले १ बजे बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ। त्यस्तै प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ।
संसद पुनर्स्थापना पछि पहिलो पटक स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाइएको हो। केन्द्रीय सदस्यहरुलाई पार्टी परिचयपत्र र नागरिक सहित यो समूहले बोलाएको छ। एमाले र माओवादी एकता भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर सहित दिइएको पार्टी परिचयपत्र सहित केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो।
यो समूहले पार्टी वैधानिकताको दावी गर्दै गएको २० माघमा निर्वाचन आयोगमा पत्र बुझाएको छ। तर, आयोगले कुनै निर्णय दिएको छैन।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा गरिएको थियो। तर, प्रधानमन्त्री ओली सरकार छाड्ने मूडमा नदेखिएपछि प्रचण्ड-माधव पक्ष दबाबमा छ।



लोकपाटी न्यूज

