काठमाडौं। सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्नका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ। गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा विप्लव नेतृत्वको पार्टीसँग वार्ताका लागि टोली गठन गरिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए।
वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले भने, ‘चन्द समूहले वार्ता टोली गठन गरेमा चाँडै वार्ता हुने सरकारको अपेक्षा छ। हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लाग्नेछ।’
गुरुङले विज्ञप्ति जारी गरी विप्लव नेतृत्वको पार्टीसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन्। केही दिन पहिले नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर आफूहरू वार्ताका लागि सकारात्मक रहेको बताएका थिए।
तर सरकारले विप्लव नेतृत्वको पार्टीमाथिको प्रतिवन्ध भने हटाएको छैन। ‘उहाँहरूलाई लागेका मुद्दाहरूलगायत के गर्ने वार्ताबाटै समस्या समाधान हुन्छ,’ सञ्चारमन्त्री गुरुङले भने, ‘वार्ताबाटै सबै समस्या हल हुन्छ।’
उनले छिटै वार्ता हुने विश्वास पनि व्यक्त गरेका छन्। नेपाललाई शान्त बनाउने र सशस्त्र समूह सबैलाई शान्ति प्रक्रियामा ल्याउने सरकारको तयारी रहेको उनको भनाइ छ।



लोकपाटी न्यूज

