काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको अवहेलना मुद्दामा जवाफ दिएका छन्। आइतबार सर्वोच्च अदालतमा आफैं उपस्थित भएर प्रचण्डले लिखित जवाफ दिएका हुन्। जवाफ बुझाएर प्रचण्ड अदालतबाट फर्किसकेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका क्रममा दिएको अभिव्यक्तिबारे अदालतमा अवहेलना मुद्दा परेको थियो। प्रचण्डविरुद्ध अधिवक्ता समीर हायूले मुद्दा दर्ता गरेका थिए। न्यायाधीश मनोजकुमार शर्माको इजलाशले प्रचण्डलाई अदालतमा आफैं उपस्थित भएर अवाफ पेश गर्न आदेश गरेको थियो।
यस चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगानाले पनि अवहेलना मुद्दामा जवाफ दिएका थिए।
अवहेलना मुद्दामा जवाफ दिँदै प्रचण्डले निवेदको दाबी झुटो भएको जिकिर गरेका छन्। लिखित जवाफमा भनिएको छ, ‘निवेदकको बुँदा नम्बर ३-४ मा उल्लेख संवैधानिक व्यवस्था स्वीकार गरेर नै संवैधानिक अदालतमा हाम्रो पार्टीका सांसदले रिट निवेदन लिएर आएको तथ्य स्पष्ट नै छ। हरेक नागरिकले आफ्नो मुद्दामा जितको आश गर्नु सामान्य मानवीय स्वभाव हो।’
अगाडि भनिएको छ, ‘यस्तो कुरा स्मरण गर्नु, व्यक्त गर्नु मुद्दाको पक्षको अधिकार नै हो। तर, सो कुरा व्यक्त गर्न नै नपाउने, आशा, भरोसा गर्न नपाउने विधिशास्त्रीय कुराभित्र पर्दैन। फैसला अवज्ञा गर्ने वा फैसला उल्लंघन गर्ने भन्ने कुरा म र मेरो दलबाट हुनु हुँदैन। फैसलामा मुद्दाका पक्षले सन्तोष, असन्तोष व्यक्त गर्नु पनि स्वाभाविक हो।’
उनले अदालतबाटै यसबारेमा छिनोफानो हुने विश्वास व्यक्त गरेका छन्। उनले आफूले अदालतको अवहेलना नगरेको जिकिर समेत गरेका छन्। वरिष्ठ अधिवक्ता तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीसहित लिखित जवाफ पेश गर्न प्रचण्ड सर्वोच्चमा पुगेका थिए।
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/02/Purnapath.pdf”]



लोकपाटी न्यूज

