काठमाडौं। नेकपाका नेता पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहभन्दा नैतिकहीन देखिएको टिप्पणी गरेकी छन्। संसद पुनःस्थापन भएपछि ओलीमा सत्ताभोगको लोभ कति रहेछ भन्ने पुष्टि भएको बताइन्। ओलीसँग नैतिकता भएको भए अहिले राजीनामा दिइसकेको अवस्था हुने उनको भनाई छ।
‘गणतन्त्र घोषणापछि ज्ञानेन्द्र शाह त नारायणहिटीबाट लुरुलुरु नागार्जुन गएका थिए,’ भुसालले भनिन्, ‘ओलीमा त्यतिसम्मको नैतिकता पनि देखिएन। ओलीमा घण्टा, मिनेट, सेकेन्डको पनि सत्ताभोग गर्ने लोभ रहेछ। संसद सुरु भएपछि अर्को सरकार गठनको प्रक्रिया सुरु हुन्छ। जताबाट बने पनि अबको सरकार गठबन्धनको नै बन्छ।’
उनले अब ओलीको प्रतिगमनविरुद्ध आ-आफ्नो ठाउँबाट लड्ने शक्तिहरूको गठबन्धनमा नयाँ सरकार गठन हुने बताइन्। भुसालले भनिन्, ‘प्रतिनिधिसभा पुनर्स्थापना भइसकेकोले हामीले संसदभित्रैको प्रक्रियाबाट सरकार फेरबदल गर्छौं। यति ठूलो परिघटनापछि पराजित भइसकेका प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने थियो।’
उनले अगाडि थपिन्, ‘हामी त बहुमत र आधिकारिक पक्ष हो। अनि हामीले उठाएको मुद्दा कसरी अनैतिक हुन्छ ? ओली सरकार फेर्न जे गर्दा हुन्छ, हामी त्यो सबै गर्छौं। बल्ल २३ फागुनमा संसद अधिवेशन बोलाइएको छ। त्यतिबेलासम्म टुंगो लाग्छ। अहिले नै किन हतारो ? हामी हल निकाल्छौं।’



लोकपाटी न्यूज

