ओलीसँग मलाई मुख्य सचेतकबाट हटाउने हैसियत छैन : देव गुरुङ

deb gurung
लोकपाटी न्यूज

काठमाडौं। नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले आफूलाई प्रमुख सचेतकबाट हटाउनले हैसियत प्रधानमन्त्री केपी शर्मा ओलीमा नरहेको बताएका छन्। गुरुङले सर्वोच्च अदालतको फैसलासँगै ओलीले संसदीय दलमा नैतिक हैसियत गुमाइसकेको दाबी गरे।

नैतिकता गुमाइसकेको व्यक्तिबाट भएको कुनै पनि गतिविधि नैतिकता गिरेको उपजको कामका रूपमा मात्र रहेको उनले टिप्पणी गरे। प्रधानमन्त्री ओलीले शुक्रवार गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेका थिए। राजीनामा दिनुपर्ने प्रधानमन्त्रीले नयाँ प्रमुख सचेतक नियुक्त गरेर अनैतिक काम गरेको गुरुङको ठहर छ।

संसद् विघटन गरेपछि ओलीले संसद् र संसदीय दलमा नैतिक हैसियत गुमाएको उनले बताए। एकातिर संसद् सिध्याउने अनि फेरि संसद्को बारेमा चिन्ता लिने कुरा नमिल्ने गुरुङको भनाइ छ। उनले ओलीले सर्वोच्चले गरेको फैसलापछि आत्मसमीक्षा गरेर अदालतको फैसला स्वीकार गरेँ भन्नुपर्ने र राजीनामा दिनुपर्ने बताए। ओलीको राजीनामापछि मात्र पार्टीमा छलफल हुने उनले बताए।

‘उहाँले संसद् भङ्ग गरिसकेपछि दलको नेताको हैसियत नै समाप्त भइसकेको छ। नीतिगत रूपमा दलको नेता नै परिवर्तन गरिसकिएको छ। संसद् विघटित भएको अवस्थामा गरिएको निर्णय भएकाले प्रक्रियागत रूपमा पूरा नहुने कुरा आफ्नो ठाउँमा छ। तर राजनीतिक रूपले नैतिक धरातल गुमाएको मान्छेले हटाउने र राख्ने कार्य गर्न मिल्दैन,’ गुरुङले भने, ‘मनपरी ढंगले आफ्नो काम गर्ने कार्य सर्वोच्च र संविधानको मूल्य मान्यताको अवज्ञा हो।’