सांसदलाई उपत्यका नछोड्न प्रचण्ड-नेपालकाे निर्देशन

लोकपाटी न्यूज

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा दाहाल(नेपाल समूहले आफूनिकट सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन दिएका छन्। सिंहदरबारमा आयोजित बैठकमा बोल्दै नेताहरुले आफूपक्षीय सांसदहरुलाई तत्कालका लागि उपत्यका नछाड्न निर्देशन दिएको नेतृ एवम् पुनस्स्थापित प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले बताइन्।

‘आजको यो बैठक अनौपचारिक मात्रै हो। बैठकमा नेताहरुले उपत्यकामा बसेका सांसदहरुलाई बाहिर नजान निर्देशन दिनुभएको छ’, झाँक्रीले भनिन्, ‘सर्वोच्चले १३ दिनभित्र संसद बोलाउन आदेश दिएकाले जति खेर पनि प्रतिनिधिसभा बस्न सक्ने निचोडसहित यस्तो निर्देशन भएको हो।’

आज बसेको बैठकमा ८० जना जति सांसद भेला भएको झाँक्रीले बताइन् । ‘कतिपय साथीहरू पूर्वनिर्धारित कार्यक्रमका लागि जिल्लातिर जानुभएको थियो,’ झाँक्रीले भनिन्, ‘त्यही भएर उपस्थित हुन सक्नुभएन।’

बैठकमा नेताहरुले कांग्रेससँग गठबन्धनबारे छलफल भए पनि प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवालाई प्रस्ताव नगरेको स्पष्टीकरण सांसदहरुलाई दिएका थिए।
‘जतिबेला जे पनि हुन सक्छ, उपत्यकामा रहेका सांसदहरू इमर्जेन्सीबाहेक बाहिर नजानुहोला,’ अध्यक्षद्वयको भनाइलाई उदृत गर्दै सांसद रामकुमारी झाँक्रीले भनिन्, ‘१३ दिनभित्र सरकारले संसद बोलाउने कुरा छ । त्यही भएर होला ।’