काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव फेस गर्ने बताएका छन्। बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला मान्ने निर्णय पनि गरेको छ।
ओली समूहका नेता सुवास नेम्वाङका अनुसार ओलीले राजीनामा दिने विषयमा छलफल भए पनि उनले राजीनामा नदिने बताएका छन्। ‘नैतिकताको आधारमा राजीनामा दिने नदिने त आफ्नो आफ्नो कुरा हो। उहाँले संसदलाई फेस गर्छु भन्नुभयो,’ नेम्वाङले भने।
ओली समूहका अर्का नेता प्रदीप ज्ञवालीले तोकिएकै समयभित्र संसद् बैठक बोलाउने निर्णय भएको बताए। सर्वोच्च अदालतले मंगलबार फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन भनेको थियो। अर्को स्थायी कमिटीको बैठक भने ओलीले बिहीवारका लागि बोलाएका छन्। अब केही दिन स्थायी कमिटी बैठक लगातार बस्ने नेम्वाङले बताए।
सर्वोच्च अदालतले मंगलवार प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई बदर गरेसँगै नैतिकताको आधारमा उनले राजीनामा गर्न सक्ने अपेक्षा गरिएको थियो। तर, ओलीले भने आफ्नो पक्षमै संसदीय दलमा बहुमत भएकाले संसद फेस गर्ने तयारी गरेको ओली समूहका नेताहरुको भनाई छ।
स्रोतका अनुसार ओली समूहको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको हठले देश अप्ठ्यारोमा परेको बताएका छन्। उनीहरुले आफूले हुँदैन भन्दाभन्दै ओलीले पेलेर संसद विघटन गरेको र त्यसकै कारण आफूहरुको राजनीतिक भविष्य संकटमा परेको भन्दै ओलीप्रति रोष प्रकट गरेका थिए।
प्रतिनिधि सभा विघटन गर्ने कदमलाई अदालतले नै असंवैधानिक भनिसकेका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिनु राम्रो हुने बहुमत नेताहरुको मत रहेको एक नेताले बताए। उनले भने, नैतिक रुपमा पनि अब प्रधानमन्त्रीको कुर्सीमा बस्न मिल्दैन। प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु राम्रो हुन्छ।
ओली समूहमा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ, स्थायी समिति सदस्य प्रदीप ज्ञवाली लगायतका नेताहरु संसद विघटनप्रति असहमत रहँदै आएका थिए। ओलीको अघिल्तिर त्यसको विरोध गर्ने आँट नदेखाएका नेताहरुले आजको बैठकमा भने आफूहरुले भनेको मानेको भए आज यो परिस्थिति नआउने भन्दै ओलीलाई नैतिकता देखाउन सुझाव दिएको स्रोतले बतायो।



लोकपाटी न्यूज

